पेशोक–गार्लाङ सडकले फेर्यो काँचुली, २३ वर्षपछि हुँदैछ अलकत्रा बिछ्याउने कार्य
पेशोक: ९ मई २०२६ ।
करिब २३ वर्षपछि पेशोक पिडब्लुडी रोडको पानी खाने फाट्कदेखि गार्लाङ हुँदै रने खोला भएर छोटा मंगवाको शेर्पाटारसम्म पुग्ने सडक मार्गले नयाँ स्वरूप पाउन थालेको छ। करिब ५.५ किलोमिटर लामो यस सडकमा हाल अलकत्रा बिछ्याउने कार्य तीव्र रूपमा भइरहेको छ।
यस मार्गले पेशोक र छोटा मंगवालाई प्रत्यक्ष जोड्ने भएकाले दुवै क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा ठूलो सहजता पुग्ने विश्वास गरिएको छ। साथै गार्लाङ स्टेडियम तथा रंगशालासम्म पुग्न पनि यही सडक मुख्य मार्गको रूपमा प्रयोग हुँदै आएको छ।
तक्दाह अभियान्त्रिकी विभाग अधीनस्थ रोड खलासीका सुपरभाइजर रमेश गुरुङ ले २३ वर्षपछि सडकमा भइरहेको अलकत्रा बिछ्याउने कार्य सही ढंगले सम्पन्न होस् भन्ने उद्देश्यले विभाग सक्रिय रहेको बताए। उनले सडकलाई दीर्घकालसम्म सुरक्षित राख्न भारी वाहन सञ्चालनमा नियन्त्रण गर्न क्षेत्रवासीसँग अपिल पनि गरेका छन्।
स्थानीयवासीका अनुसार विगतमा जीटीए गोल्डकप तथा गार्लाङ गोल्डकपको समयमा हजारौं दर्शकले जिर्ण सडकका कारण सास्ती खेप्नुपरेको थियो। अब सडक स्तरोन्नति भएपछि यात्रु तथा वाहन चालक दुवैलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
Comments
Post a Comment